अन्तर्राष्ट्रिय

हावाबाटै पनि कोरोना फैलन सक्ने भन्दै बैज्ञानिकले गरे सर्तक रहन आग्रह

२२ असार काठमाडौं । वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन् । हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।

महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका छन् । वैज्ञानिकहरुले यसबारे जानकारी लिन र गम्भीर हुन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन् । यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने भनिएको छ । ३२ देशका २३९ जना वैज्ञानिकहरुले हावामा कोरोना भाइरसको कण रहेरनरहेको बारे अनुसन्धान गरेका थिए ।

उनीहरुले हावामा पनि साना साना कणका रुपमा कोरोना भाइरस रहेको पत्ता लगाएका छन् । यसअघि ढल प्रणालीमा पनि कोरोना भाइरसका जिवाणु फैलिएको पत्ता लागेको थियो । हावाका कणमा पनि कोरोनाका जिवाणु पत्ता लागेपछि वैज्ञानिकहरुले यस भाइरसलाई एअरवोर्नु अर्थात वायु प्रवाहित भनेका छन् । डब्ल्यूएचओले अहिलेसम्म यो भाइरस मानिसले हाच्छ्यूँ गर्दा एकबाट दोस्रो व्यक्तिमा फैलने गरेको बताइरहेको छ ।

थुक, र्‍याल र सिँगानका छिटाहरुबाट यो भाइरस फैलने सम्भावना धेरै रहन्छ । संक्रमितले हाच्छ्यूँ गर्दा निस्किएको ड्रपलेटु हावामा फैलिने र अरु स्वस्थ मानिसमा पनि संक्रमण हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । तर डब्ल्यूएचओले वैज्ञानिकहरुले दिएको प्रमाण पर्याप्त नभएको जनाएको छ ।