प्रदेश 1

कुनै हालतमा पार्टी विभाजन रोक्न नेकपा प्रदेश १ कार्यकर्ताको माग

२१ असार, भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न आज यहाँ माग गरेका छन् । नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आज विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयाङ्गम गरी पार्टी एकतामा जोड दिए ।

नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताए । पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत पढेर सुनाइएको थियो ।