पु.समाचार

थपिए २९३ जना कोरोना संक्रमित, नेपालमा पुगे जम्मा १५ हजार ७८४ जना

२१ असार, काठमाडौं ।

कोभिड– १९ को सङ्क्रमण आज २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको बताए ।

आज देखिएका सङ्क्रमणसँगै सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ जना रहेको छन् । उनका अनुसार आज १३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१.५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज चार हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । नौ हजार २०३ जना सङ्क्रमित आइसोलेशनमा रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।