बाग्मती

खोकनामा प्रहरी र स्थानीयवासी झडप

२० असार, ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा प्रहरी र स्थानीयवासी झडप भएको छ । तराई मधेश जोड्ने दु्रतमार्गको जिरो किलोमिटर परियोजना आसपासको बाँझो जमीनमा स्थानीयवासीले खेती गर्न थालेसँगै प्रहरी र स्थानीयवासीबीच विवाद भएको हो । आज भएको झडपमा दुवैतर्फका केही व्यक्ति घाइते पनि भएका छन् ।

करीब एक हजार ५०० देखि दुई हजार महिलासहित बालबालिका भएका स्थानमा अश्रुग्यास प्रहार भएको खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डङ्गोलले बताए । उनले भने, “कोरोनाले दैनिक मुलुकवासीलाई शिथिल बनाइरहेका बेला हाम्रा लागि भोकभन्दा ठूलो परियोजना हुने छैन । हामीलाई घरभित्र थुनी यहाँ माटो पुर्ने काम भएपछि हामी भोकको पछि लोगेका हौँ ।”

वडाध्यक्ष रवीन्द्र महर्जनले भन्नुभयो, “कोभिड–१९ त्रासका कारण हामीलाई धान रोपेर खान दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको छ । यस आयोजनासँग छलफल गरी यस वर्ष धान रोपेर खान दिनुहोस् भन्ने तयारी पनि गरिरहेका छाँै ।” स्थानीयवासीले विभिन्न परियोजनाको नाममा त्यसै बाँझो रहेको जमीनमा खेती गर्न गएपछि विवाद बढेको महर्जनले जानकारी गराए ।

खोकनामा बाहिरी चक्रपथ, काठमाडौँ तराई दु्रतमार्ग, १३२ केभी प्रसारणलाइन, वाग्मती करिडोर, काठमाडौँ–हेटौँडा सुरुङमार्ग, पेट्रोलियमन पाइपलाइन, स्मार्ट सिटीका नामक विभिन्न योजना अघि बढिरहेको छ । विकासका नाममा सांस्कृतिक सहरमाथि अतिक्रमण हुनु हुँदैन भन्ने स्थानीयवासीको माग छ । यी योजनाका कारण करीब पाँच हजार ५०० देखि छ हजार जनसङ्ख्याको धर्म, संस्कृति, मौलिकता र पहिचान गुम्ने भयो भन्दै स्थानीयवासीले विरोध गर्दै आएका हुन् । सरकारले यस ठाउँमा एकै साथ विभिन्न परियोजना अघि बढाएसँगै जनताले जग्गाको सही रुपमा मुआब्जा, जग्गा बिक्री वितरण र कित्ताकाट गर्ने अधिकारसमेत नपाएको गुनासो गरेका छन् ।