गण्डकी प्रदेश

बन्दाबन्दीका कारण रोकिएको अपाङ्गता परिचयपत्र वितरण

१९ असार, चिप्लेढुङ्गा । बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ ।

महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिए ।

उनले भने, “बन्दाबन्दीका कारण अपाङ्गता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित भएका थिए, त्यसलाई ध्यान दिएर बिहीबार र शुक्रबार ६५ जनालाई परिचयपत्र वितरण भएको छ ।” उनले अति आवश्यक पर्ने केहीलाई बन्दाबन्दीका बीचमा पनि परिचयपत्र वितरण गरेर पछि समितिबाट पारित गरिएको जानकारी दिए ।

उनकाअनुसार पोखरा महानगरपालिका उपप्रमुख मञ्जदेवी गुरुङको संयोजकत्वमा गठित समितिले प्रत्येक महिनाको अन्तिम सोमबार अपागङ्ता परिचयपत्र वितरण गर्दै आएको थियो । बन्दाबन्दीका कारण गत फागुनदेखि जेठसम्म परिचयपत्र वितरण हुनसकेको थिएन । परिचयपत्र पूर्ण अशक्त, अतिअशक्त, मध्यम र सामान्य अपाङ्गता गरी चार तहमा विभाजन गरिएको छ ।

पूर्ण अशक्त अपाङ्गता भएकाको मासिक रु तीन हजार र अतिअशक्तले एक हजार ६०० मासिक भत्ता पाउँदै आएका छन् भने मध्यम र सामान्यले परिचयपत्रबाट अन्य सुविधा उपभोग गर्न पाउनेछन् ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस, सम्बन्धित वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट वितरण गर्ने गरिन्छ । महानगरको ३३ वटा वडाबाट हालसम्म अपाङ्गता परिचयपत्र पाउने ७८५ जना रहेको उनले जानकारी दिए ।