पु.समाचार

आज थप २३४ जनामा कोरोना संक्रमण, थप दुईजनाको मृत्यु

२० असार, काठमाडौं । आज थप २३४ जनामा कोरोना भाईरसको संक्रमण देखिएके छ । आज थप दुईजनाको निधन भएको समेत स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका हुन् । कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । गत २४ घण्टामा २३२ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटिपिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारिन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ३३ हजार १२५ रहेको छ ।

त्यसैगरी आइसोलेशनमा रहेकाको सङ्ख्या नौ हजार ४२ छ । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २७२ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ४१५ रहेको छ । मन्त्रालयको दुईवटा कल सेन्टरबाट ८३२ वटा कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार २०१ छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८७ हजार ५५० छन् । यहाँ जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार ७३ छ । आज मात्रै १५१ जनाले इन्ट्री गरेका छन् । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१७ छ । त्यसमध्ये आज दुईजना छन् । उनीहरु सिन्धुपाल्चोक र सुनसरीको हुन् ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या २९ लाख नौ हजार ९०० रहेको छ । भाइबर गु्रप प्रयोगकर्ताहरु तीन लाख ९५ हजार ५६३ रहेका छन् । सार्क देशहरुमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसङ्ख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेश अगाडि रहेको छ ।

प्रवक्ता गौतमले भने, “कोरोना महामारीले संसारभरका देशलाई आक्रान्त पारेको छ, यसबाट धेरैभन्दा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा गर्ने/गराउने महान् कार्यमा सहयोग गरिदिनु हुने सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ, तपाईँ आफैँले सामाजिक दूरी, माक्सको प्रयोग गरी साबुनपानीले हात धोई स्यानिटाइजरको उचित प्रयोग गरी तपाईँ स्वयम्, घरपरिवारका सदस्यहरु, डाक्टर तथा नर्सलगायत कोरोनाविरुद्ध अग्रपङ्क्तिमा लडिरहनुभएका सम्पूर्णलाई बचाउने महान् कार्यमा योगदान गर्नसमेत अनुरोध छ ।”