गण्डकी प्रदेश

उत्तरगङ्गामा मोटरेवल पुल नहुँदा समस्या

२० असार, गलकोट । गत वर्षको बर्खायाम मात्रै उत्तरगङ्गा नदी तर्ने क्रममा दुई जनाले ज्यान गुमाउनुपर्यो । त्यसअघिका वर्षमा पनि नदी तर्नेक्रममा स्थानीयको ज्यान गइसकेको छ । उत्तरगङ्गाको नवीगाउँ र स्यालपाखे जोड्ने गरी झुलुङ्गे पुल भए पनि धेरै तल भएका कारण स्थानीय ज्यान जोखिममा राखेर भए पनि ढोरपाटन उपत्यको बीच भागबाट नदी तर्दै आएका छन् । नदीमाथि मोटरेवल पुल निर्माण नहुँदा बर्खामा सवारी साधन ढोरपाटनको देउराली आसपास मात्रै पुग्ने गरेका छन् ।

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् निर्माण गर्ने नदीमा पक्की पुल नहुँदा आउजाउमा निकै समस्या भएको छ । बागलुङ जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन पुग्न केही वर्ष पहिले निकै सास्ती भए पनि अहिले ठाउँठाउँमा पक्की पुल निर्माणसँगै ढोरपाटन पुग्न सकिए पनि उपत्याकामा अवरोधका रूपमा उत्तरगङ्गा नदी रहेको छ । केही वर्ष पहिला ढोरपाटन पुग्न एक दर्जन खोला तर्दै हिलाम्मे कच्ची सडकमा सवारी साधन चलाउनुपर्ने बाध्यताको अन्त्य भए पनि बुर्तिवाङदेखि ढोरपाटनसम्मको ४० किलोमिटर सडक कालोपत्र हुन बाँकी नै छ ।

मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी सडक स्तोन्नतिसँगै ढोरपाटनको यात्रा निकै सहज बन्दै गएको छ । सवारी साधनमा ढोरपाटन पुग्न एक दिन लाग्ने भए पनि अहिले ढोरपाटन पुग्न जिल्ला सदरमुकामदेखि छदेखि सात घण्टा लाग्ने गरेको छ ।

यातयातको पहुँच पुगेसँगै बागलुङ जिल्लाको प्रसिद्ध ढोरपाटन क्षेत्र, ढोरबराह मन्दिर, ढोरपाटन उपत्यका र नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष पुग्न सहज भएको छ । सहज यात्रामार्फत ढोरपाटन पुगेका पर्यटकलाई उपत्यका पुगे पनि उत्तरगङ्गा नदीमा मोटरेवल पुल नहुँदा सास्ती हुँदै आएको छ । ढोरपाटन उपत्यकामा रहेको उत्तरगङ्गा खोलामा पुल नहुँदा त्यहाँ पुग्ने पर्यटक, सवारी तथा ढोरपाटनवासीलाई वर्खाको समयमा भने निकै समस्या हुँदै आएको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले जानकारी दिए ।

मोटरेवल पुल भएमा सवारी र स्थानीयलाई सहज हुने थियो । ढोरपाटनमा झण्डै सात वर्ष पहिला मात्रै सडक पुगेको हो । सडक पुगेपछि पर्यटकहरु बढे पनि ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगङ्गामाथि मोटरेवल पुल बन्न सकेको छैन । “बाटो राम्रो भएको छ, साना सवारीसाधनसमेत आउन थालेका छन्”, उनले भने, “उपत्यका वारपार गर्नका लागि मोटरेवल पुल भए निकै सहज हुन्थ्यो ।”

बर्खाको समयमा पुल नहुँदा वर्षेनी स्थानीयवासीको नदीले बगाएरै मृत्यु हुने गरेको स्थानीय भद्रमणि सुनारले जानकारी दिए। उनले पकट–पटक पक्की पुलको माग गरे पनि हालसम्म सुनुवाइ नभएको बताए । पुल नहुँदा हिउँदमा जेनतेन खोला तर्न सकिने भए पनि बर्खायाममा नदी तर्न नसक्दा समस्या भएको हो ।

पुल निर्माणका लागि नगरपालिकाको बजेटले नसक्ने भन्दै नगरपालिकाको सिफारिसमा प्रदेश तथा सङ्घीय सरकारसमक्ष माग राख्दै आएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीमगरले जानकारी दिए । “समथर भूभाग भएका कारण उपत्यकामा झुलुङ्गे पुलसमेत बनाउन सकिँदैन, केही तल मात्रै झुलुङ्गे पुल छ”,उनले भने, “मोटरेबल पुल निर्माण भएमा स्थानीयवासी तथा सवारी साधन वारपार गर्न सहज हुने थियो ।”