सुदूरपश्चिम

प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा बाटोघाटो बनाउन प्राथमिकता

२० असार, बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बैतडीका स्थानीय तहमा बाटोघाटो निर्माण मुख्य प्राथमिकताका साथ विभिन्न योजना सम्पन्न भएका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिचाँइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । “प्रत्येक वडामा कम्तीमा एक योजना गरेर १३ योजना सम्पन्न हुने चरणमा रहेका छन्”, उनले भने, “ती योजनाका लागि पालिकाका प्रत्येक वडामा ४० जनाका दरले रोजगारी पाएका छन् ।”

दशरथचन्द नगरपालिमाका २८ लाख ६२ हजार बजेटले ११ वटै वडामा पिसिसी बाटो, सडक, चौतारो निर्माण गरिएको रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिनुभयो । प्रत्येक वडामा दुई–दुई योजनाका दरले काम भइरहेका र एक हजार बढीले रोजगारी पाएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दको भनाइ छ ।

सुर्नया गाउँपालिकामा विनियोजित ६२ लाख ८० हजारबाट आठवटै वडामा गरी १६ योजना सम्पन्न भएका छन् । पिसिसी बाटो, फिल्ड कटिङ, सडकको नाली तथा खानेपानी निर्माणको काममा दुई हजार ६०० जनाले रोजगारी पाएको रोजगार संयोजक सुरेन्द्र धामीले बताए । यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत ८५ लाख विनियोजित भएको छ ।

पिसिसी, गोरेटो बाटो, गाउँघर क्लिनिकको भवन, तटबन्ध निर्माण गरी नगरपालिकामा १३ योजना सम्पन्न भएका र ३८३ जनाले रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए । पाटन नगरपालिकामा पनि विनियोजित ३२ लाख २७ हजारले नहर सरसफाइ, सिँचाइ योजना बाटो निर्माणको काम गरिएको छ । सबै वडामा गरेर १० योजना सञ्चालन गरिएको र त्यसमा ७०० जनाले रोजगारी पाएको पाटन नगरपालिकाका रोजगार संयोजक महेशराज पन्तले बताए ।

शिवनाथ गाउँपालिकामा सो कार्यक्रमबाट १२ योजना सम्पन्न हुने चरणमा रहेका बताइएको छ । २८ लाख १० हजार बजेटले बाटो, सडक सरसफाइ, बर्थिङ सेन्टरको पर्खाल निर्माणमा १०० जनाले रोजगारी पाएका सो गाउँपालिकाका रोजगार संयोजक लक्ष्मीदत्त जोशीले बताए। सिगास गाउँपालिकामा सो कार्यक्रमअन्तर्गतका योजना अन्तिम चरणम पुगेका छन् ।

१६ लाख प्राप्त भएकोमा गोरेटो बाटो र बर्थिङ सेन्टर निर्माण गरी पाँच योजना रहेका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । ती काममा १०० जनाले रोजगारी पाएका छन् । डिलाशैनी गाउँपालिकामा ४६ लाख ५६ हजार बजेटले २४ योजना सञ्चालनमा रहेका रोजगार संयोजक हरिस जोशीले जानकारी बताए । सडक निर्माण गरिएका ती योजनामा ३०० जनाले रोजगारी पाएका जनाएको छ ।

मेलौली नगरपालिकामा ६१ लाख ९७ हजार बजेटमा चार योजना सञ्चालनमा रहेका छन् । खानेपानी र सिँचाइका ती योजनामा करिब ५०० जनालो रोजगारी पाएको रोजगार संयोजक सरिता बोगटीले बताए । उनले भने, “असार २५ गतेसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि कोरोनाको कारणले सम्पन्न हुने सम्भावना कम छ ।”

पञ्चेश्वर गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत सात योजना सम्पन्न भएका छन् भने २०० बढी नागरिकले रोजगार पाएका छन् । गाउँपालिकामा कार्यक्रमअन्तर्गत १० लाख बजेट विनियोजित भएको गाउँपालिकाले जनाएको छ ।