राजनीति

नेकपा विवादः अध्यक्षद्वय ओली र दहालबीच यस्तो भयो कुराकानी !

१९ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । नेता शर्माका अनुसार आज अध्यक्षहरुबीच आपसमा विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमीकमजोरीलगायत सबै विषयमा छलफल भएको र शनिबारको स्थायी कमिटी बैठक अगाडि पुनः बस्ने तय भएको छ ।

उनीबीच पार्टी एकतापूर्व २०७५ जेठ २ मा समानता र आपसी सहमतिका आधारमा सरकारमा आलोपालो नेतृत्व गर्न भएको सहमति, गत मङ्सिर ४ मा प्रधानमन्त्री ओली सरकारको काममै निरन्तर रहने र अध्यक्ष दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने गरी स्थायी कमिटीमा भएको निर्णयको कार्यान्वयनलगायतका विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो । एकता प्रक्रियाका साक्षी महासचिव पौडेल र नेता शर्माले पनि कुनै पनि हालतमा पार्टी एकताबद्ध रहनुपर्छ भन्ने सुझाव दिएका थिए । कार्यकर्ता तहले समृद्धि र स्थिरताका लागि चुनावी घोषणापत्रअनुसार पार्टी एकताबद्ध भई आपसमा मिलेर देश र जनताका पक्षमा काम गर्न दबाब सिर्जना गरेको छ ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएको विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।

यसैगरी निर्वाचन आयोगमा नेकपा ९एमाले० नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा त्यसमा नेकपाका नेता कार्यकर्ताको संलग्नता छ/छैन भन्नेमा छलफल चलेको थियो । उक्त विषयका साथै संसद्को बजेट अधिवेशन बिहीबार अन्त्य भएका विषयमा पनि नेकपा स्थायी कमिटीमा विवाद उत्पन्न भएको छ । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक शनिबार ११ः०० का लागि बजे तोकिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तसङ्घर्ष कुनै व्यक्ति वा व्यक्तिको स्वार्थमा हुन नहुने भएकाले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा नभई पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवी वर्गलाई केन्द्रविन्दुमा राखेर रुपान्तरणमुखी बहसमा सहभागी हुन आज आह्वान गरेका छन् । एकता जोगाउन सबै आफ्नो छातीमा हात राखेर सोच्न पनि उनले आग्रह गरेका छन् ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको काम कारवाहीका विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कार्यसूची तय गरिएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच विसं २०७५ जेठ ३ गते एकता भई नेकपाको गठन भएको थियो ।