पर्यटन/संस्कृति

बोर्डद्वारा पर्यटन प्रोटोकोल तालीम शुरु, प्रमुख कार्यकारी डा रेग्मीले दिए जानकारी

१९ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड–१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालीम सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा धनञ्जय रेग्मीले हाल तालीममा ६०० लाई सहभागिता गराइने र आगामी दिनमा यो सङ्ख्यालाई बढाउँदै लगिने बताए । यही असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गर्नुभएको प्रोटोकोलमा आधारित भएर पर्यटन व्यवसायीका लागि कोभिडको दोस्रो चरणमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा सजकताबारे डिजिटल तालीम आयोजना गरिएको हो ।

पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ । यस तालीमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने छ । साथै व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासका लागि समूचित वातावरण बनाउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले होटल एसोसिएसन अफ नेपाल, नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपालसँगको समन्वयमा तालीमको आयोजना गरिरहेको छ । आगामी दिनमा आवश्यकतानुसार अन्य पर्यटन सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिकस्तर मै तालीमलाई अगाडि बढाइने बोर्डले जनाएको छ ।