खेलकुद

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई हरायो

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई हराएको छ । बिहिबार राति घरेलु मैदानमा रियलले गेटाफेलाई १–० ले हराएको हो । रियलको जितमा कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ । बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे ।

च्याम्पियन्स लिग छनोटको दौडमा रहेको गेटाफेले राम्रो सुरुवात गरेको थियो । सुरुवाती १२ मिनेटभित्र गेटाफेका तीन प्रहारलाई रियलका गोलकिपर थिवाउट कोर्टुवाले बचाएका थिए । रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।

रियल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ । सन् २०१२ पछि पहिलो पटक रियल ला लिगाको उपाधि जित्ने अभियानमा रहेको छ ।