प्रदेश 2

सप्तरीमा चट्याङ्ग लागेर वृद्धको मृत्यु

१८ असार, सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको आज मृत्यु भएको छ ।

खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ ।

खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको बताए । त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले जानकारी दिए ।