राजनीति

नेकपाभित्रको विवादले संसद अधिवेशन अन्त्य हुनु दुःखद मात्रै होइन, आपत्तिजनकः काँग्रेस

असार १८, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले संसद अधिवेशन अन्त्यको बिषयमा सरकारले काँग्रेससँग कुनै पनि छलफल नगरेको बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको स्पष्ट गरेका छन् ।

प्रवक्ता शर्माले भनेका छन्, ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो ।’

सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक भएको काँग्रेसको ठहर छ । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी भएपनि अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको काँग्रेसको टिप्पणी छ ।

काँग्रेसले जनताको जिवन प्रधान कि सत्ताको राजनीति? प्रश्न गरेको छ । काँग्रेसले सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति जनाएको छ ।