बाग्मती

पर्यटन प्रवद्र्धनमा वडाको सक्रियता

१८ असार, बनेपा । रोशी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष धनजीत लामा गाउँमा गुरु रेन्पोछे (गुरु पद्मसम्भाव) को मूर्ति बनाउन लागेको तीन वर्ष भयो । सडक सञ्जालले जोड्न नसकेका बेला जिल्लाको दक्षिणी भेग डाँडापारिका धेरैजसो बासिन्दाको शहर प्रवेश गर्दाको नाका शिखर आम्बोटेको पीपल चौतारो छेउमा अहिले वडाध्यक्ष लामाको पहलमा २१ फिट अग्लो र २२/२२ मिटरको क्षेत्रभित्र गुरु रेन्पोछेको मूर्ति स्थापना भइसकेको छ ।

गाउँपालिका र वडा कार्यालयको संयुक्त पहलमा पहिलो वर्ष पाँच लाख, दोस्रो वर्षमा आठ लाख र तेस्रो वर्षमा १० लाख गरी २३ लाख लागतमा गुरु रेन्पोछेको मूर्ति सम्पन्न गर्न सफल भएको वडाध्यक्ष लामाले बताए । “मूर्ति बनाउने ठाउँको ठीकमाथि पीपलको चौतारो छ”, उनले भने, “गाउँभरिका मानिस थकित भएपछि चौतारोमा जाने चलन छ, जसलाई नयाँ तरिकाबाट पर्यटन प्रवद्र्धन गर्न पार्कका रुपमा विकास गर्नलाई रेन्पोछेको मूर्ति स्थापना गरेका हौँ ।”

सो ठाउँ अहिले पनि अधिकांश गाउँको जिल्ला सदरमुकाम जाने केन्द्रका रुपमा पर्छ । यसलाई नयाँ ढङ्गले विकास गर्नसकेमा आन्तरिक र धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने भएकाले मूर्ति स्थापना गरिएको हो । मूर्ति स्थापना गरेको ठाउँबाट पूर्वपट्टि करिब एक किलोमिटर अगाडि महाकाल देवीस्थान छ । ठूलो वृक्षमुनि रहेको देवीस्थानमा पृथ्वीनारायण शाहको पालामा उनले प्रयोग गरेको तरबार रहेको भनाइ छ । त्यहाँ महाँकालथानको मन्दिर रहेको र अहिले भग्नावशेष मात्रै रहेको भए पनि तरवार भने अझैसम्म सुरक्षित रहेकाले उक्त मन्दिर संरक्षणको काम अगाडि बढिरहेको उनले बताए ।

मन्दिर संरक्षणका लागि वरिपरि पर्खाल लगाउने र तलबाट मन्दिरसम्म जानका लागि सिंढी निर्माण गर्ने तयारी छ । वडाभित्रको धार्मिक र ऐतिहासिक स्थानलाई संरक्षण र विकास गर्नसकेमा पर्यटन विकासमा टेवा पुग्ने र व्यावसायिक दृष्टिकोणले पनि वडावासीको आयआर्जन वृद्धि हुने भएकाले पर्यटन प्रवद्र्धनको काममा जोड दिएको वडा अध्यक्ष लामाले बताए ।

वडा नं १ का वडाध्यक्ष श्रीदास लामाले तीन धारा झरनालाई व्यवस्थित गर्ने काममा लागिरहेको बताउनुभयो । पर्यटन विकासको सम्भावना बोकेको सो झरना ओझेलमा परेकाले त्यसको प्रवद्र्धनका लागि लागिपरेको उनको भनाइ छ । पालिकाले पनि त्यहाँबाट तारखासे लेक, सिसाखानीको गडीगाउँ हुँदै रोशी गाउँपालिका– १२ को घ्याङलेक डाँडा जोड्ने पदमार्गको डिपिआर निर्माण भइसकेको उनले बताए । त्यससँगै तारखासे लेकको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सकारले डिपिआर बनाइरहेको बताइएको छ ।