आर्थिक

लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

१८ असार, लहान । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ ।

चालू आव २०७६/७७ मा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो । लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो ।

खेलाडीलाई खेलकूद सामग्री वितरण

प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गरेका छन् । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिनुभयो । संसदीय कोषको नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताए ।