पु.समाचार

संसदको बजेट अधिवेशन अन्त्य गर्न सरकारले गर्योे सिफारिस

१८ असार काठमाडौं । आजको मन्त्रीपरिषदको बैठक समाप्त भएको छ । आजको बैठकमा सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा परामर्श गरेका थिए । राष्ट्रपतिसँग छलफल गरेर आएपछि केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ । बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको थियो ।

पार्टी बैठक तय भएकै बेला प्रधानमन्त्री ओलीले १२ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका थिए । पार्टी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।