खेलकुद

गण्डकीमा खेलकुदको थप पूर्वाधारमा जोड

पोखरा, १८ असार । गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि आठ करोड ३५ लाख विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । सरकारले आ।व।२०७७÷०७८ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्बाट यहाँ आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि एक करोड ५० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिएका छन् । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।