पु.समाचार

अनुशासनहीन काम गर्ने सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

१७ असार, काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।

सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उहाँहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर छ । त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।

पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।