राजनीति

सरकारले जनजीवन उकास्ने काम गर्न सकेनः नेता पौडेल

१७ असार, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै विकल्प दिनुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै ठीक नभएको आरोप लगाउँदै मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले जनताको जनजीवन उकास्ने गरी कुनै पनि काम गर्न नसकेको आरोप पनि लगाए।

जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको उल्लेख गर्दै सरकारप्रति जनताको कुनै आशा र भरोसा नभएको विचार राखे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्रीको राजीनामा माग्नु राष्ट्र, पार्टी, नेपाली जनताका निम्ति सान्दर्भिक नहुने बताए । उनले भने, “अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र छ, त्यसलाई व्यवस्थित गर्ने हाम्रो संवैधानिक व्यवस्था छ, यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन ।”