स्वास्थ्य

चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएः स्वास्थ्य मन्त्रालय

१७ असार, काठमाडौं । नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६५ पुरुष र ११७ महिला गरी कुल ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७७४ महिला र १२ हजार २७२ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका बालबालिका भारतबाट आफ्ना आमा र बुबासँग आएको उनले बताए । यस्तै सङ्क्रमण देखिएका सुदुरपश्चिम प्रदेशमा १७५ बालबालिका ९ वर्ष मुनिका छन् । उनले बालबालिकालाई सङ्क्रमण देखिएकाले बाहिर नजान आग्रह गरे ।

एकको मृत्युसँगै मृतक ३० पुगे

कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते सङ्क्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।