शिक्षा

शिक्षामन्त्रीलाई खुला–पत्रमार्फत् नविन भन्छन्ः शिक्षकलाई राजनीति गर्न रोक लाउनुस्

असार १७, ग्वान्जाओ, चीन । एनआर एनको नेता नविन विकले नेपालमा शिक्षा क्षेत्रमा भएका कमिकमजोरी लगायतका बिषयमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई खुला–पत्र लेखेका छन् । सामाजिक अभियान्ता एबम् चीनको ग्वान्जाओमा व्यावशाय गरेर बसेका उनको खुला पत्र यसप्रकार छः

माननीय शिक्षामन्त्री
गीरीराज मणि पोखरेललाई खुला पत्र

नमस्कार मन्त्रीज्यु।

शिक्षा र अर्थतन्त्र नै देशबिकासको मुल मन्त्र र आधार हो।यसमा सायदै कसैको बिमति होला , अहिले हाम्रो नेपालमा शिक्षा एक ब्यापार भएको छ, यो जस्तो फस्टाएको ब्यापार केही छैन, अहिले नर्सरी देखी नै महंगो र राम्रो स्कुलमा पढाउने होड चलेको छ, कक्षा १ पढ्ने बिधार्थीलाई ६०–७० हजार देखी लाख रुपियाँ सम्म महिनाको फि भरेर पढाउनेको पनि कमी छैन, राम्रा र धनी बिध्यार्थी जति एउटै स्कुलमा थुप्रिन्छन्, उनीहरु पढ्ने स्कुलमा सबै सुबिधा र पढाई पनि त्यही अनुसारको हुन्छ, शहरका प्रभाबशाली नेताहरु तथा सरकारी हाकिमका छोरा छोरी राम्रो स्कुलमा पढ्न पाएपछि, अरु स्कुलमा साधारण जनताको बच्चाहरु पढ़ने स्कुलको पढाई जस्तो सुकै होस् सरकारलाई कुनै मतलब हुदैन । त्यसलै गर्दा अहिले सरकारी स्कुलको पढाई नाम मात्रैको पढाई छ, केही सामुदायिक स्कुललाई अपबादको रुपमा नलिने हो भने । राज्यको शिक्षानीति गतिलो नहुनाले बर्षेनी लाखौं अभिभाबकको टाउको दुखाईको बिषय बनेको छ र आफ्नो बच्चाहरुलाई राम्रो स्कुलमा पढाउने अस्वस्थ प्रतिस्पर्धा चलेको छ। बच्चाहरुलाई राम्रो स्कुलमा पढाउनको लागि धेरै कर्मचारीले बर्षेनी ठुलो घुष खाने गरेको तथ्यबाट सायद तपाई पनि बेखबर पक्कै हुनुहुन्न ।

म चीनमा बस्छु, चीन हाम्रो असल छिमेकी हो र संयोगले नेपालमा पनि चीनको जस्तै कम्युनिस्ट शासन छ तर नेपाल र चीनको बिकास भने आकास र पाताल फरक छ। यहाँ शिक्षामा ब्यापार गरिदैन, सरकारी स्कुलका भबन, पढाई र सुबिधाहरु कुनै पनि प्राईभेट स्कुलको भन्दा कम हुदैन, यहाँका बच्चाहरुलाई स्कुल पढ्नको लागि एरिया छुट्याईएको हुन्छ । जस्तोकी बानेश्वर एरियामा बस्ने परिवारको बच्चाहरु बानेश्वरकै स्कुलमा पढनु पर्छ। कलंकी एरियामा बस्ने अभिभावकको बच्चाहरु कलंकीकै स्कुलमा पढनु पर्छ । चाहे सरकारी होस वा प्राईवेट, नेपालमा जस्तो कलंकीमा बस्ने बच्चाहरु राम्रो स्कुल खोज्दै बानेश्वर जान पाईदैन, जस्लाई जहाँ पढन मन लाग्यो त्यही पढन पाईदैन, यसरी स्कुल छानेर जहा पनि जान नपाउदा सबै राम्रा बिद्यार्थी जति एउटै स्कुलमा पढन पाउने छैनन्, सबै ठुला सरकारी हाकिम, व्यापारी वा राजनिज्ञको बच्चाहरु एकै ठाउमा पढ्न नपाएपछि उनीहरु बस्ने आफ्नो स्थानिय स्कुललाई नै महत्व दिनेछन् र पढाईको स्तरोन्नती तर्फ ध्यान दिनेछन्। सरकारी जागीर खाने कर्मचारीको बच्चाहरुराई सरकारी स्कुलमा पढाउनै पर्ने बाध्यकारी नियम पनि ल्याउनुस्, शिक्षकहरुलाई राजनीति गर्न रोक लाउनुस्। राजनीतिक गर्ने बित्तिकै बर्खास्त गर्ने कठोर नीति अपनाउनुस्, शिक्षकहरुको बिधार्थीले ल्याउने अंकको आधारमा श्रेणी निर्धारण गर्नुस् र त्यही अनुसार बोनस भत्ताहरुको पनि निर्धारण गर्नुस् । बरु सबै स्कुललाई अंग्रेज़ी माध्यमबाट पढाई सुरु गराउनुस् र जुन वडा वा एरियाको बच्चहरु हुन् त्यही मात्रै पढाउन पाउने (सरकारी र बोर्डिङ स्कुल दुबैलाई) नियम लागु गर्नुहोस र आफ्नो नाम शिक्षा मन्त्रालयमा सुनौलो अक्षरले लेखाउनुस्, तपाईले कमाएको धन तपाई बाचुन्जेल मात्रै काम लाग्छ तर तपाईले कमाएको नाम मरेपछि पनि काम लाग्छ जुनी जुनी सम्म तपाईको नाम अमर रहनेछ।