खेलकुद

लामा र गिरी क्यान सदस्यमा सिफारिस

१७ असार काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताएका छन् ।

उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गरेका छन् । लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उनले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसको छन् । लामा पोखरा प्रिमियर लिग ९पिपीएल०को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक समेत हुन् ।

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुन् । राखेपले यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।