पर्यटन/संस्कृति

आज हरिशयनी एकादशीः घर–घरमा तुलसी रोपेर मनाईँदै

१७ असार काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूली एकादशी, घरघरमा तुलसी रोपेर मनाइँदै छ । यस दिन आज हिन्दू धर्मावलम्बीहरुले औषधीय गुणयुक्त तुलसी रोपेर भगवान श्रीहरि अर्थात् विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी या देवशयनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले चतुर्मास व्रत प्रारम्भ गर्दछन् । साथै एक पर्वको रुपमा मनाउने गरिन्छ । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने गरिन्छ । यस दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन् ।

भनिन्छ–आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागरमा सुत्न जानुहुन्छ । उहाँ चार महिनापछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठनुहुने विश्वास गरिन्छ । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘हरिशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘हरि प्रबोधिनी’ एकादशी भनिन्छ ।

चतुर्मास अवधिभर बिभिन्न व्रत तथा तीर्थ गरे पूण्य मिल्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु कठोर उपासनामा बस्ने पनि गर्दछन् । तुलसीलाई भगवान विष्णुको वानस्पतिक स्वरुपको रुपमा पनि लिने गरिन्छ ।

हिन्दू मान्यता अनुरुप हरेकको घर आँगनमा तुलसी रोप्न अनिवार्य झै मानिन्छ । हिन्दू धर्म शास्त्रमा उल्लेख भए बमोजिम तुलसीलाई पूजनीय , पवित्र र देवीको स्वरुपमा लिने र पूज्ने गरिन्छ । घरमा तुलसी रोपेपछि १० कुरामाथि विशेष ध्यान पुर्याउन आवश्यक मानिन्छ । तुलसी रोपिएको घरमा सबै देवी देवताको विशेष कृपा रहने विश्वास पनि गरिन्छ । घरमा सकारात्मक र सुखद उर्जाको स्रोतकोरुपमा तुलसीलाई लिने गरिन्छ । तुलसी रोपिएको घरमा धनको कमी नहुने र परिवारका सबै सदस्यलाई स्वास्थ्य लाभ हुनेसम्मको विश्वास समेत गरिन्छ ।