अन्तर्राष्ट्रिय

अमेरिकामा दैनिक सङ्क्रमण एक लाख पुग्ने विज्ञले दिए चेतावनी

१७ असार एजेन्सी । अमेरिकामा दैनिक कोरोना संक्रमीतको संख्या १ लाख पुग्नसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा.एन्थोनी फाउचीले आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने बताएका छन् ।

उनले थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने चेतावनी दिएका हुन् । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् ।

उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिएका छन् । साथै डा फाउचीले अमेरिकामा कोरोनाभइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् ।

यस्तै बीबीसीका एकजना संवाददाताका अनुसार अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण व्यापक रूपमा बढीरहेको देखिएको छ । डा.फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए ।

त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ।