शिक्षा

नेविसङ्घले ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान गर्दै

१७ असार काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान सञ्चालन गर्ने बताएका छन् ।

नेविसङ्घले जिल्लाभर रहेका क्वारेन्टाइनको अवस्था, पिसिआर परीक्षणको उपलब्धता र अस्पतालमा गरिने स्वास्थ्य उपचारको अवस्था बारेमा अनुगमन गर्ने तथा खबरदारी गर्ने बताएको छ । अध्यक्ष ढुङ्गानाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने निःशुल्क पाठ्यपुस्तक घर–घरमा पुगेर वितरण गरिने बताए ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले जिल्लाभित्रका निजी विद्यालयले शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क उठाउने कुरा रोक्न अनुगमन गर्ने बताए । उनले काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा असार १८ मा देशभर रक्तदान र वृक्षरोपण गर्न सबै जिल्लालाई परिपत्र गरिएको जानकारी दिएका छन् ।