खेलकुद

बार्सिलोना र एट्लेटिको मड्रिड २–२ गोलको बराबरीमा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसंग २–२ गोलको बराबरी खेलेको छ ।मंगलबार राति घरेलु मैदानमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो । लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेको खेलमा बार्सिलोना जित निकाल्न असफल रह्यो ।

बराबरीको नतिजासंगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भिर धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए । लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरे । बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि सो गोलको कोशेढुङ्गा पार गरेका हुन् । पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे ।

एट्लेटिकोबिरुद्ध मेस्सीले प्रहार गरेको पेनाल्टीलाई गोलकिपर जान ओबलाकले ठम्याउनै सकेनन् । एट्लेटिकोसंग बराबरीको नतिजासंगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनमाथि दबाब थपिएको छ । पछिल्लो खेलको नतिजासंगै उपाधि होडमा रियल मड्रिडको हात माथि परेको छ ।

अन्य खेलमा सेभिलाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राख्यो । मालोर्काले सेल्टा डी भिगोमाथि ५–१ को जित निकाल्दै रेलिगेशनबाट जोनबाट आफुलाई बाहिर निकाल्न प्रयासरत रहेको देखायो ।