लुम्बिनी

धार्मिकस्थल उमरी परिसरमा वृक्षरोपण

१६ असार, चन्द्रौटा । डिभिजन वन कार्यालय गौतमबुद्ध कपिलवस्तुले शिवराज नगरपालिका – १ उमरी डाँडामा वृक्षरोपण गरेको छ । एकीकृत सुरइ सामुदायिक वनअन्तर्गत पर्ने नगरको पर्यटकीय तथा धार्मिकस्थल उमरी मन्दिर परिसरमा विभिन्न प्रजातिका बोटविरुवा रोपेर वृक्षरोपण दिवस मनाइएको छ ।

अतिक्रमण हुने क्षेत्रलाई संरक्षण गरी डिभिजन वन कार्यालय र सामुदायिक वन समितिले पर्यटकीयस्थल बनाउन लागेका छन् । कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेले वृक्षरोपण गर्दै बिरुवा रोप्नुभन्दा हुर्काउनु ठूलो कुरा भएकाले त्यसमा ध्यान दिन स्थानीयवासीसँग आग्रह गरे ।

नगर प्रमुख नेत्रराज अधिकारीले सबैको सम्पत्ति वनको संरक्षण र जर्गेना गर्ने दायित्व सबैको भएको बताए । सबै अतिक्रमित र खाली ठाउँमा वृक्षरोपण गरिने वन कार्यालयका प्रमुख दुर्गा कार्कीले बताए । उनले उमरी डाँडामा पर्यटन प्रवद्र्धन, वन संरक्षण, सडक र भवन निर्माणका लागि ६ लाख कार्यालयले सहयोग गरेको जानकारी पनि दिए।

वृक्षरोपण दिवसकै अवसर पारेर वन कार्यालयले वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने सामुदायिकतर्फ पहिलो मनकामना सामुदायिक वन, दोस्रो हरियाली सामुदायिक वन र तेस्रो समयथान सामुदायिक वनलाई सम्मान गरेको छ । वन संरक्षण गरेवापत प्रहरी हवल्दार राजेन्द्र कुँवर तथा वन, वातावरण र वन्यजन्तु संरक्षणमा पत्रकारिताका माध्यमबाट उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत रेडियो समानताका स्टेशन म्यानेजर कृष्ण गैरेलाई सम्मान गरिएको थियो ।