प्रदेश 1

प्रदेश नं १ को ‘समानुपातिक हिसाबले बजेट विनियोजन’

१६ असार, विराटनगर । प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटन विकासका लागि सबै जिल्लामा समानुपातिक हिसाबले बजेट विनियोजन गरेको बताएका छन् । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकअन्र्तगत सम्बन्धित मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उनले सरकार सीप विकास, रोजगार सिर्जनामा ध्यान दिएको छ भने ।

उनले एक गाउँ एक उत्पादनका लागि सरकारले बजेट विनियोजन गरेको छ भन्दै वैज्ञानिक वन व्यवस्थापनले भावी सन्ततिलाई जङ्गलमा पहँुच पुग्ने विश्वास व्यक्त गरे । मन्त्री कुसियतले जडीबुटीका लागि प्रदेशको सबै जिल्लामा जडीबुटी उत्पादन एवं विकासका लागि बजेट विनियोजन भएको बताए।

प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेकयमा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जनताको समानुपातिक अधिकार र विकासलाई ध्यान दिन सरकारसँग माग गरे भने अर्का सदस्य राजेन्द्रकुमार राईले एक पालिका एक मैदानका निम्ति बजेट संशोधन गरेर भए पनि ल्याउन सुझाव दिए ।