कृषि

पाल्पामा ४० प्रतिशत धान रोपाइँ

रामपुर, १६ असार । पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् । हालसम्म जिल्लाको माथागढी गाउँपालिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताएका छन् । उनका अनुसार यस क्षेत्रमा मात्रै करीब ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ । तिनाउ गाउँपालिकामा करीब ४० प्रतिशत रोपाइँ भएको छ ।

रम्भा गाउँपालिकाका हुँगी, हेक्लाङलगायत क्षेत्रमा करीब ३० प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी तानसेन नगरपालिकाको तल्लो क्षेत्र माडी र अर्गलीफाँट तथा पूर्वखोला र बगनासकालीमा फ्याटपुट धान रोप्ने कार्य कृषकले शुरु गर्न थालेका छन् ।

खाली रहेका, सिंचाइको पर्याप्त सुविधा भएका, खोला नजीकका खेतमा कृषकले धान रोपाइँको काम शुरु गर्न थालेको अर्यालले बताए । विगत वर्षमा जिल्लामा मनाइँदै आएको राष्ट्रिय धान दिवस भने यस वर्ष कोरोना भाइरसका कारण हुन सकेन ।

मकैबाली भएका खेतमा भने मकै पाकेपछि असारको तेस्रो हप्तापछि मात्रै रोपाइँ सुरु गरिन्छ । कतिपय आकाशको पानीको भरमा मात्र रोपाइँ हुने खेतमा भने पर्याप्त वर्षा भएपछि मात्र धान रोपिने गरिन्छ । जिल्लाको दोस्रो बालीका रुपमा रहेको धान खेती आठ हजार ६२० हेक्टर जमीनमा गरिँदै आएको छ । रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, हुँगी, दोभान, हेक्लाङ पूर्वखोला क्षेत्र धान उत्पादनका हिसाबले मुख्य क्षेत्र मानिन्छ ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र तथा स्थानीय तहले उन्नत जातका धानका बीउ कृषकलाई वितरण गर्न थालेपछि रैथाने बीउ भने जिल्लामा लोप हुँदै गएका छन् । बास्मती, झिनुवा, थापाचिनी, बर्मेली, जर्नेली, अनदीलगायत धान लगाउने कृषक भने कमै लगाउने गरेको भेटिन्छन् ।

काँसजरीमा खानेपानी सुविधा

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका –४ काँसजरीमा अहिले खानेपानी सुुविधा पुगेको छ । ‘रामपुरमा पानी सङ्कट’ शीर्षकको समाचार गत जेठ २९ गते राससमा प्रकाशन भएपछि गाउँमा पानी वितरण प्रक्रिया अगाडि बढाइएको हो ।

नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलो पटक खानेपानी लगिएको छ । अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी छन् । नगरपालिकाले रु पाँच लाख र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर –४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताए ।

नगरपालिकाको केन्द्र नजीकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गथ्र्यो । टोलमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि गाईभैंसीलाई खुवाउन र नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्छन ।

स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउछन् । रामपुर खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउछन् ।

निःशुल्क रुपमा घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन् । पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ । काँसजरी क्षेत्रका करीब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।