बाग्मती

भोकले मार्न लाग्यो भन्दै एकाबिहानै सरकारका बिरुद्धमा उत्रिए ट्याक्सी व्यवसायी

१६ असार काठमाडौं । मुलुकमा जारी लकडाउनका कारण काम ठप्प भएपछि ट्याक्सी व्यवसायी सरकारको बिरोधमा उत्रिएका छन् । एकाबिहानै ट्याक्सी व्यवसायीहरु काठमाडौंको नयाँ बानेस्वरमा विभिन्न प्लेकार्डसहित सरकारको बिरोधमा उत्रिएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ । लकडाउपछि ट्याक्सी व्यवसायी पुर्ण रुपमा ठप्प रहेका छन् । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि आन्दोलनमा उत्रनुपरेको व्यवसायीहरु बताउँछन् ।

उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । मुलुकमा कोरोना संक्रमण बढ्दैजाँदा सरकारले भने जारी लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने घोषणा गरेको छ ।  गत चैत्र ११ गतेदेखी सरकारले सार्वजनीक यातायात सञ्चालनमा रोक लगाएको छ ।