अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध इरानले गर्यो पक्राउ पुर्जी जारी

१६ असार काठमाडौं । ईरानले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जि जारी गरेको छ । ट्रम्पको राष्ट्रपतीय कार्यकाल समाप्त हुनेबित्तिकै उनीविरुद्ध मुद्दा चलाइने दाबी गरिएको छ ।

गत जनवरीमा ड्रोन आक्रमणमा मारिएका त्यहाँका एक उच्च अधिकारीको विषयमा पुर्जी जारी गरिएको फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । इरान सैनिक कमान्डर कसेम सोलेमानीको हत्या प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका ३६ जनामध्ये ट्रम्प एक हुन् । तेहरानका महान्यायाधिवक्ता अलि अलकासीका अनुसार ट्रम्प ३६ जनाको सूचीमा पहिलोमा पर्छन् ।

इरानले यी ३६ जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई आग्रह गरेको थियो । इन्टरपोलले उक्त अनुरोधलाई मान्ने सम्भावना कम देखिएको छ ।

सीएनएनलाई एक विज्ञप्तिमार्फत इन्टरपोलले राजनीतिक, सैन्य, धार्मिक वा जातीय चरित्रको हस्तक्षेप वा गतिविधि गर्न संगठनलाई कडा निषेध गरिएको जनाएको छ । इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले सोमबार आयोजित पत्रकार सम्मेलनमा इरानको उक्त कदमलाई ‘राजनीतिक स्टन्ट’ भएको बताएका छन् ।