कर्णाली प्रदेश

भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौंः  कृषिमन्त्री केसी

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भोकमरीको सम्भावित जोखिमबाट बच्न कृषि कर्म नियमित राख्न सबैमा आग्रह गरेका छन् ।
सत्रौँ राष्ट्रिय धान दिवसका अवसरमा किसान तथा सम्पूर्ण नेपाली एवं कर्णालीवासीमा शुभकामना सन्देश दिँदै मन्त्री केसीले कोभिड–१९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने भएकाले कृषिसम्बन्धी सम्पूर्ण गतिविधि आवश्यक सतर्कता अपनाई नियमित राख्न किसानलाई आग्रह गरेका छन् ।

कोभिड–१९ संक्रमणबाट सुरक्षित रही भौतिक दूरी कायम गर्दै धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन र सङ्घीय सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला हुन वा २५ भन्दा बढी भएमा न्यूनतम निर्देशित दूरी (६ फिट) कायम गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउन उनले आग्रह गरेका छन् ।

आगामी केही वर्षमा धानचामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्प साकार पार्न कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयबाट धानबाली प्रवद्र्धनका प्रयाससमेत भइरहेको र धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको उनले सन्देशमार्फत जानकारी दिएका छन् ।

कर्णालीमा ३९ प्रतिशत रोपाइँ

शुभकामना सन्देशमार्फत कृषिमन्त्री केसीले कर्णाली प्रदेशमा हालसम्म ३९ प्रतिशत धान रोपाइँ भएको जानकारी दिएका छन्। कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४२५ मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको उनले बताएका छन् । उनका अनुसार सबैभन्दा धेरै डोल्पा जिल्लामा २७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा दुई हजार ८०० हेक्टर क्षेत्रफलमध्ये ९७ प्रतिशत अर्थात् दुई हजार ७१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
रोग र भोकविरुद्ध साझा ढंगले लड्न सक्ने ऊर्जा पैदा भई बाँझो जमीन सदुपयोग गरी खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न उनले आह्वान पनि गरेका छन् ।