लुम्बिनी

कलौनीमा सवारी दुर्घटनामा बाबुछोराको मृत्यु

१५ असार, रुपन्देही । सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुनुहुन्छ ।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ ।