कर्णाली प्रदेश

असार १५ गते आज कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत, १५ असार । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिएका छन् ।

चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताए। यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको बताउँदै किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको मन्त्री केसीले जनाएका छन् ।

प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १२ गते, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), असार १५ गते, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा प्रदेश सरकारले गरेको छ ।