सुदूरपश्चिम

बन्दाबन्दीमा गुणस्तरहीन सामान बिक्रीः चार लाखको सामग्री बरामद गरी नष्ट

बैतडी, १५ असार । बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब रु चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।

जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रु तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिएका छन् ।

जिल्लाका पाँच स्थानीय तहका करिब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए । गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो । जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जनाइएको छ ।

यस्तै अनुगमनका क्रममा चार जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुव्र्यवहारको प्रयास गर्नेहरुलाई रु एक हजारदेखि तीन हजार ५०० जरिवाना गरिएको उहाँले बताए ।

म्याद नाघेका अखाद्य सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिएका छन् ।

धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिएका छन् । यस्तै दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरिद बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न टोलीले आग्रह गरेको छ । अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री वितरण हुँदै आएको छ ।