लुम्बिनी

पाटे बाघको आक्रमणबाट दुईजना घाइते

१४ असार, राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आज राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन् ।

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए ।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ । दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ । घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ ।