पु.समाचार

काँग्रेस मेयर वडद्वारा लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा गर्ने घोषणा

१४ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ ।

आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गरे । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ । मेयर वड गत स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसबाट निर्बाचित भएका थिए ।  

कोरोना संवेदनशीलताका बारेमा व्यवसायीसँग छलफल

कोरोना संवेदनशीलतालगायतका विषयमा धनगढीका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ । उपमहानगरपालिकाका प्रमुख वडले आज यहाँ कैलाली उद्योग वाणिज्य सङ्घ, औषधि व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल तथा सुझाव दिने काम गरे ।

सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि व्यवसायीसँग छलफल शुरु गरिएको बताइएको छ । नगरप्रमुख वडले व्यवसायीसँग पसलका अगाडि डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकको भौतिक दूरी कायम हुने वातावरण बनाउन आग्रह गरेको बताए ।