समाचार

जननेता भण्डारीको जन्मजयन्तीमा रक्तदान

१४ असार, भद्रपुर । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा झापामा आज रक्तदान र वृक्षरोपण कार्यक्रम गरिएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा विर्तामोडस्थित स्पार्क पूर्वाञ्चल अस्पताल परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी उपशाखा विर्तामोडको रहेको थियो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी कमल गाउँपालिकाले वृक्षरोपण कार्यक्रम गरेको छ । पार्टीका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलका अनुसार वडा नं ३ मा रहेको रतुवामाई वृक्षरोपण आयोजनाभित्र गाउँपालिकाले निर्माण गरेको चिल्ड्रेन पार्कमा विभिन्न जातका बिरुवा रोपिएको छ ।

वडा कार्यालय उद्घाटन

कमल गाउँपालिकाको वडा नं ७ मा बनेको दुईतले पाँच कोठे पक्की भवनको आज उद्घाटन गरिएको छ । सो भवन निर्माणका लागि जिल्ला समन्वय समितिले ४५ लाख र प्रदेश नं १ का प्रदेशसभा सदस्य अर्जुन राईले रु २५ लाख रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताए ।