समाचार

नायगाड हुँदै डोल्पा जोडिने १ करोडले ८ किलोमिटर खोलिदै ट्रयाक

१२ असार, रुकुमपूर्व । सिस्ने गाउँपालिका –२ नायगाड भएर सिस्ने –१ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ । एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो ।
गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख बजेटमा उक्त ट्रयाक खोलिएको सिस्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । यस्तै गत आर्थिक वर्षमा पनि गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको ४० लाख गरी ९० लाख बजेटमा चार किमी बाटो खनिएको थियो ।

अहिले नायगाडतर्फ पूर्व पुथा –१४ जामाबगरबाट र पश्चिम देउखोलाबाट खडक खन्ने काम भइरहेकोे वडाध्यक्ष केसीले बताए । देउखोला–नायगाडको बीच खण्डमा ब्लाष्टिङ गरी निर्माण सेवा कम्पनीले बाटो खन्ने काम गरिरहेको छ । सडक नपुगेका कारण विभिन्न आवश्यक सामग्री अभावका साथै कडा चट्टानका कारण ट्रयाक खोल्न निकै समस्या झेल्नुपरेको बताइएको छ । अब जिल्ला सदरमुकाम रुकुमकोट, बालुवा–देउखोला–नायगाड–जामाबगर भएर कोलसँग जोडिँदै छ भने नायगाड–सिस्ने–डोल्पासँग जोडिँदै छ । हाल सडक नपुगेकाले त्यस ठाउँका नागरिकले सामान ढुवानीमा सास्ती खेपिरहेका छन् । डोल्पातर्फ जोडिने सडक र कोलसँग जोडिने सडक जोडियो भने व्यापार व्यवसाय फस्टाउने स्थानीयवासीले बताएका छन् ।
यी सडकखण्डमा पर्ने विभिन्न क्षेत्रमा मनोरम पर्यटकीयस्थल अथाह रहेकाले सडक पुगेमा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको प्रवक्ता केसीले बताए ।