गण्डकी प्रदेश

तनहुँका स्थानीय तहले ल्याए रु सात अर्बको बजेट

दमौली, १२ असार । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिएका छन् ।

नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिएका छन् । “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भने ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडाः एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिएका छन् ।

जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

विद्युत् अवरुद्ध

बुद्धसिंह राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ निउरोघारीमा गएराति पहिरोले बिजुलीको पोल बगाउँदा दुई सय घरमा विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि परेको वर्षाले उक्त ठाउँमा पहिरो जाँदा बिजुलीको पोलमा क्षति पुगेको हो ।

पहिरोले ठूला–ठूला ढुङ्गा झारेर ११ केभी लाइनको बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिएका छन् । “पहिरोले चार वटा पोलमा क्षति पुर्याउँदा व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका दुई सय घरमा विद्युत् अवरुद्ध हुन पुगेको छ”, उनले भने, “पहिरो नहटाउँदासम्म मर्मत कार्य गर्न समस्या छ ।” ढुङ्गाले पोल र तारहरु थिचेकाले पहिरो हटाएपछि मात्रै मर्मतको काम गर्न सकिने उनले जानकारी दिएका छन् ।

सो स्थानमा केही दिनअगाडि पनि पहिरोले दुईवटा पोलमा क्षति पुर्याएको थियो । सो पोल तत्कालै मर्मत गरी विद्युत् प्रवाह सञ्चालन गरिए पनि अहिले ठूलो पहिरो गएकाले पहिरो हटाएपछि मात्रै मर्मतसम्भारको काम गर्न सकिने विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका संयोजक बद्रीनाथ अधिकारीले अवरुद्ध भएको बाटो खुलाउने तयारी गरिएको जानकारी दिएका छन् । उनले दमौलीबाट डोजर पठाएर बाटोको पहिरो पन्छाउन लागिएको जानकारी दिएका छन् ।