प्रदेश 2

ट्याक्टर दुर्घटना हुँदा २० वर्षीय चालकको मृत्यु

११ असार, गौशाला । महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

‘अध्यक्ष कन्यादान कार्यक्रम’
महोत्तरीको पिपरा गाँउपालिकाले दाईजो न्यूनीकरणका लागि ‘अध्यक्ष कन्यादान योजना कार्यक्रम’ ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले गाउँपालिकाले सो कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत दाइजोका कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेलाई गाउँपालिकबाटै सामूहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने नीति ल्याएको उनले बताए ।

गाउँपालिकाले प्रत्येक वडामा समान रुपले एक करोड ४० लाखका दरले बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार विदेशबाट फर्केर आउने युवालाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खेती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लगाउन कृषि आधुनिकीकरण योजना ल्याएको छ ।

बुधबार सम्पन्न छैटौँ गाउँसभाले ४७ करोड २१ लाख ५८ हजार ६०० को बजेट प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए ।