राजनीति

निजी क्षेत्रको मनोवल बढाउनुको सट्टा अख्तियार प्रवेश गराउने षढ्यन्त्र गर्नु विवेकहीन निर्णयः राप्रपा

११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाश चन्द्र लोहनीले देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा नीजि क्षेत्र माथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको टिप्पणी गरेका छन् ।

आज देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको अवस्थामा देशको नीजि क्षेत्रको मनोवल बढाई साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनु पर्ने भएपनि यस्को ठिक विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिनु दुःखद भएको राप्रपाको निश्कर्ष छ । यस्तो विवेकहीन प्रावधान अगाडि वढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।

राप्रपाले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘यस बर्ष नेपालमा कृषिको लागि पर्याप्त बर्षा हुने अनुमान छ । अतः यो स्थितिको फाइदा उठाउन समयमै मल किसानले पाउनु पर्दछ । तर देशमा मलको हाहाकार छ र उत्पादन बृद्धि गर्ने मौकाबाट किसानहरु बञ्चित हुँदैछन् । नेपाल सरकारले मल पु¥याउन सकेको छैन । यो स्थितिमा अविलम्ब सुधार गरियोस् र किसानहरुलाई मलको व्यवस्था गरियोस भनि राप्रपा जोडदार माग गर्दछ ।’