आर्थिक

नारायणी र राप्ती नदी तटबन्धन गर्न ५० अर्ब माग

११ असार, चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि ५० अर्ब माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेश गरेको छ ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर हरिबहादुर थापाका अनुसार ती दुवै नदीमा तटबन्धन र त्यसमाथि ग्राबेल बाटो हुने छ । आयोजनाले तयार गरेको प्रतिवेदनमा नारायणी नदीको नवलपरासीतर्फ ६३ किलो मिटर तटबन्धन गरिनेछ । यसअघि तटबन्धन गरिएको १० किलोमिटर क्षेत्रलाई मर्मत सम्भार गरिने छ ।

उनका अनुसार नारायणीको चितवनतर्फ ५० किलोमिटर तटबन्धन गरिनेछ । पहिले निर्माण भएको १३ किलोमिटर भागलाई मर्मत गरिने छ । राप्तीमा चितवन र मकवानपुर क्षेत्रको १०५ किलोमिटर मध्ये स्वीस परियोजनाले पूर्वी चितवनमा गरेको तटबन्धनको बाहेकको भूभाग तटबन्ध गरिनेछ ।

तटवबधनको माथि डिलमा ६ मिटर फराकिलो ग्राबेल सडक हुने उनले जानकारी दिए । नदीतर्फ ग्याबिन जालिबाट संरक्षण गरिनेछ । उनले विभागमा प्रतिवेदनको विषयमा छलफलपछि स्वीकृत भएसँगै गुरुयोजना निर्माणमा लाग्ने बताए ।

तटबन्धनमा ठूलो खर्च लाग्ने भएकाले दाता र ऋणको खोजी गरिँदैछ । राप्ती र नारायणीको चितवनतर्फको भागमा लगानी गर्न एसियन डेभलोपमेण्ट बैंकले चासो देखाएको उनले जानकारी दिए । सो बैंकका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरिसकेका छन् । कुन ढङ्गले उनीहरु सहकार्य गर्न तयार हुन्छन् पछि थाहा हुने उनको भनाइ छ ।

विसं २०६६ मा जनताको तटबन्धन नामक आयोजनामार्फत नारायणी नदीमा तटबन्धन थालिएको हो । पछि सोही आयोजनाको नाम परिवर्तन भएर नारायणी नदी व्यवस्थापन आयोजना भएको हो । सो आयोजनाले हरेक वर्ष काम गर्दै आएको भए पनि बजेट अभावका कारण सोचे जस्तो काम हुन सकेको छैन । सो आयोजनाले जोखिमपूर्ण ठाउँहरुमा तटबन्धन गरिदिँदा चितवन र नवलपरासीका धेरै भूभाग जोगिएका छन् । हालसम्म नदी तटबन्धनमा एक अर्ब ७२ करोड खर्च भई सकेको आयोजनाले जनाएको छ ।