गण्डकी प्रदेश

‘एक घर एक धारा’

कास्की,११ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मासु र दुग्ध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ६२ करोड ६७ लाख ६९ हजार २९० को बजेट तथा कार्यक्रम बुधबार पारित गरेको गाउँपालिकाले नौ वटै वडामा व्यावसायिक पशु उत्पादन वृद्धिका लागि गाउँपालिकाका सहकारी मार्फत दुध विक्री गर्ने कृषकहरूलाई विक्रीका आधारमा प्रोत्साहन अनुदान प्रदान गरिने गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए ।

गाउँपालिका दुध उत्पादनको पकेट क्षेत्र भएकाले कृषकसँगको लागत साझेदारीमा स्थानीय प्रजातीको भैंसी प्रवर्दन कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा ल्याइने गरेको छ ।

गाउँपालिकाले कोभिड– १९ का कारणले उद्योग व्यापार व्यवसायमा प्रत्यक्ष असर परेकाले आगामी वर्ष व्यवसाय दर्ता तथा नवीकरणमा सहुलियत दिने नीति लिइने जनाएको छ । त्यसैगरी कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर वृद्धि गर्न लघु उद्यम विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कोरोनाका कारणले वैदेशिक रोजगारबाट फिर्ता भएका र बेरोजगार युवाहरुको उद्यमशिलता विकासका लागि सहकारी मार्फत उद्यमशिलता घुम्ती कोष सञ्चालन गर्न रु ५० लाख बजेट विनियोजन गरिएको छ । कृषि तथा पशु क्षेत्रमा अग्रणी गाउँपालिकाका रहेकाले कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकरणका लागि रु एक करोड ८६ लाख विनियोजन गरिएको छ ।

नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्दै प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य, कृषि,पर्यटन र पूर्वाधार विकासमा जोड दिइएको उनले जानकारी दिएका छन् ।

गाउँपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको बजेटमा चालु खर्चतर्फ रु २८ करोड १९ लाख २० हजार तथा पूँजीगत बजेट रु ३४ करोड४८ लाख ५९ हजार २९० रहेको छ । पूर्वाधार विकासतर्फ रु २३ करोड ५४ लाख ७२ हजार ४९०, सामाजिक विकासतर्फ रु चार करोड ७० लाख ४६ हजार ८००,आर्थिक विकासमा रु तीन करोड पाँच लाख ८० हजार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड १५ लाख ५० हजार र सुशासन,संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड दुई लाख विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताएका छन् ।

कोरोना भाइरस रोगको रोकथाम,नियन्त्रण तथा उपचारलाईं प्रभावकारी बनाउन,क्वारेन्टिन निर्माण,सञ्चालन र व्यवस्थापन र औषधी उपकरण तथा कोष स्थापनाका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको सुदृढिकरण, स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, औषधी उपचार एम्बुलेन्स,ल्याब स्थापना लगायतमा रु ५५ लाख बजेट छुट्टाइएको छ ।

‘एक घर एक धारा’ कार्यक्रमका लागि रु दुई करोड ३३ लाख,महिला बालबालिका, दलित, जनजाती, ज्येष्ठ नागरिक र अपाङ्गवर्गको उत्थान र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न रु ५५ लाख, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जनउत्तरदायी बनाउनका लागि रु एक करोड सात लाख बजेट विनियोजन गरिएको छ ।

प्रशासकीय भवनका लागि रु छ करोड ५० लाख, गाउँपालिका आउने मुख्यबाटो गोरुगौडा समिबवर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख, बर्थिङ सेन्टर सुदृढिकरणका लागि रु १५ लाख, राष्ट्रपति रनिङ शिल्डका लागि रु १० लाख,गाउँपालिका तथा सबै वडा कार्यालयहरुमा सीसी टिभी जडानका लागि रु १० लाख, उच्च शिक्षा छात्रवृत्तिका लागि रु १० लाख तथा जल उत्पन्न प्रकोष नियन्त्रणका लागि आगामी वर्ष रु ३० लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।