आर्थिक

गैँडाकोटलाई बाँझो जग्गारहित नगर बनाइने, बजेट ७१ करोड ३२ लाख

भरतपुर, ११ असार । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि रु ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ नगरसभामार्फत उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले आन्तरिक स्रोतबाट रु नौ करोड ४० लाख ५० हजार र सङ्घ तथा प्रदेशबाट प्राप्त अनुदानबाट रु ६१ करोड ९१ लाख ५० हजार ४९७ आयको अनुमानगरेको छ । नगरपालिकाले कार्यालय प्रशासनिकखर्चतर्फ रु ११ करोड ६५ लाख, आर्थिक विकासतर्फ रु एक करोड ६५ लाख र सामाजिक विकासतर्फ रु तीन करोड ९० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकासमा रु दुई करोड ८४ लाख, वातावरण तथा विपद्मा रु एक करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा रु ३० लाख रकम छुट्याइएको छ ।

नगरपालिकाले १८ वडालाई रु १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजस्वको स्रोत जुटाउन नगरपालिकाले गैँडाकोट नगरभित्र कर शिक्षा अभियान, नगर कार्यपालिकाको कार्यविधिनिर्माण गरी घर जग्गाबहाल कर र व्यवसाय कर असुलगर्ने उपप्रमुख कँडेलले बताईन ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कोभिड १९ को जोखिम तथा सोबाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताईन । उनले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा विशेष जोड दिएको जानकारी दिएकी छिन् ।

बाँझो जग्गारहित नगर बनाउने अभियानका साथ हरेक वडाभित्र रहेका उत्पादनविहीन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिई कृषि प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइने प्रमुख पौडेलले बताएका छन् । कालीगण्डकी करिडोर, बिपी अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्यापर्यटन मार्ग, गरिबीमुक्त गैँडाकोट अभियान, एक वडा एक विशिष्टीकरण उत्पादन, साहित्य संस्कृतिकला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रङ्गशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।

नगरभित्र खाद्यान्न र नगदेबालीको पकेट क्षेत्र स्थापना, कृषि तथा पशु हाटबजार स्थापना, किसानलाई उन्नत बीउ वितरण, घाँस र प्रविधि प्रदान, दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘मेरो फोहोर, मेरै व्यवस्थापन’ अयिभानलाई प्रभावकारी बनाउँदै जनताको घरदैलोमा मेयर कार्यक्रम सञ्चालन गरेर नगरवासीसँग संवाद र गुनासो सुन्ने प्रमुख पौडेलले बताए । सुत्केरी आमा पोषिलो खाना कार्यक्रम, शिक्षित छोरी सक्षम घर र बालउद्यान र बालमैत्री खेलकूद मैदान कार्यक्रम नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै गैँडाकोटलाई ‘शैक्षिक हब’का रुपमा विकास गर्दै सामाजिक सङ्घसंस्था एवं सहकारीको विकास गरिने जनाइएको छ । कनेक्टिङ गैँडाकोट, स्मार्ट गैँडाकोट र निजी क्षेत्रको लगानीमा मौलाकालिकामा केबुलकार निर्माण गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले बताए ।

गैँडाकोट क्षेत्रभित्र सफा र स्वच्छ खानेपानीको व्यवस्था, कच्ची सडकको स्तरोन्नति गर्दै कालोपत्रे सडकको मर्मत गरी खाल्डाखुल्डीमुक्त बनाउने नगरपालिकाको योजना छ । एक घर एक बिरुवा, एक वडा एक हरियालीपार्क नगरपालिकाको प्राथमिकतामा छ ।

नारायणी नदी किनारमा स्नानस्थल र शवदाहस्थललाई थप व्यवस्थित गर्दै लैजाने र नारायणी तटीय क्षेत्रको व्यवस्थापन प्रक्रियालाई वैज्ञानिकरुपमा अघि बढाइने नीति अघि सारिएको छ । गैँडाकोट चक्रपथ र नगरभित्र विद्युत् विस्तरलाई पूर्णता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नदी तथा खोलाको कटान र बाढी नियन्त्रणमा नगरपालिकाले काम गर्नेछ । भौगोलिकरुपमा विकट रहेका वडा नं ३, १४ र १८ लाई पूर्वाधार विकास सेवा प्रवाह सहजीकरणका लागि नगरपालिकाले प्राथमिकता दिएको छ ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका कर, दस्तुर सेवा शुल्कका क्षेत्रको दायरा फराकिलो गर्दै नगरको स्रोत परिचालनमा सबै क्षेत्र र वर्गका नगरवासीले आफ्नो क्षमताअनुसार योगदान गरेको महसुस गराइने नीतिगत व्यवस्थ गरेको नगरपालिकाले जनाएको छ ।