पु.समाचार

साँसदसहित दर्जन भन्दा बढी नेताको गिरफ्तारी र प्रहरी आक्रणप्रति काँग्रेसको भत्सना

१० असार, काठमाडौं । गत जेष्ठ १० गते रुकुम पश्चिमको सोतीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि संयुक्त राजनीतिक संघर्ष समितिले करिब एक महिना देखि गर्दै आएको आन्दोलनको क्रममा उक्त घटनाको गलत पोष्टमार्टम तयार गर्ने चिकित्सकलाई कानूनी कारवाहीका लागि आज नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने क्रममा शान्तिपूर्ण धर्नामा बसेका जनप्रतिनिधिलार्ई प्रहरीद्वारा गरिएको बलपूर्वक हस्तक्षेपप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शान्तिपूर्वक ज्ञापन बुझाउन गएका व्यक्तिहरुलाई अन्धाधुन्ध लाठीचार्ज गरी बल प्रयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले उक्त निन्दनीय कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ भनेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘आजको घटनाले वर्तमान सरकार स्वतन्त्र अभिव्यक्तिमा अंकुश लगाउने कार्यमा तल्लिन रहेको प्रष्ट भएको छ । नेपालको संविधानले सबै नागरिकलाई मौलिक हक प्रदान गरेको छ । तर वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका कार्य गर्दै आएको छ । शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने अधिकार माथि ठाडो हस्तक्षेप भएको छ । नागरिकको मौलिक हक हनन नगर्न सरकारलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ । आजको घटनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी परियारलाई लाठी चार्ज गरी गम्भीर घाइते बनाएको प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।’

संसदीय दलले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य जीवन परियार, राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, सोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल, दुर्गा विश्वकर्मा लगायतलाई गिरफ्तार गरेको प्रति नेपाली कांग्रेस संसदीय दल खेद प्रकट गरेको छ ।