बाग्मती

अस्पतालले घरमा नै आराम गर्न पठाएका वडाध्यक्ष तामाङको निधन

१० असार, चितवन । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।

लामो समय देखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिए । उनका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो ।

उनलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताए । तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उनको एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।