राजनीति

अरु जाति/समुदायप्रति घृणा फैलाउनु/आफ्नो मात्र पक्षपोषण गर्नु राष्ट्रवाद होइनः नेता घिमिरे

१० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कसैले कसैलाई अपहेलना गर्ने परिकल्पना निषेधित हुनु अनि अरु जाति र समुदायप्रति घृणा फैलाउनु र आफ्नो मात्र पक्षपोषण गर्नु, भूगोलको मात्र कुरा गर्नु सम्पूर्ण राष्ट्रवाद नभएको बताएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका युवा नेता घिमिरेले सच्चा र पूर्ण वादले हिमाल, पहाड, तराई, खस आर्य, जनजाति, आदिवासी, मधेसी, दलित, महिला, धनी, गरिब सबैको आत्मसम्मान र प्रतिष्ठाको कदर गर्छ भन्ने तर्क गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, ‘राष्ट्रवाद न पहाडे हुन्छ, न मधेसी। यो जात, समुदाय, भाषा, धर्म, संस्कृति र सिद्धान्त सापेक्ष हुदैन। यो त एउटा निश्चित भूगोलमा बसोबास गर्ने सबै समुदाय, धर्म, जाति, संस्कृति र सबै विचार अबलम्बन गर्ने नागरिकहरुको समष्टिगत र साझा भावना हो।’ भनेका छन् ।

नेता घिमिरेको स्टाटस्ः मानिसहरुमा राष्ट्रवादको बिषयको बुझाई देख्दा घरिघरि टिठ लागेर आउँछ। राष्ट्रवाद न पहाडे हुन्छ, न मधेसी। यो जात, समुदाय, भाषा, धर्म, संस्कृति र सिद्धान्त सापेक्ष हुदैन। यो त एउटा निश्चित भूगोलमा बसोबास गर्ने सबै समुदाय, धर्म, जाति, संस्कृति र सबै विचार अबलम्बन गर्ने नागरिकहरुको समष्टिगत र साझा भावना हो। यसमा कसैले कसैलाई अपहेलना गर्ने परिकल्पना निषेधित हुन्छ। अरु जाति र समुदायप्रति घृणा फैलाउनु र आफ्नो मात्र पक्षपोषण गर्नु राष्ट्रवाद होइन र भूगोलको मात्र कुरा गर्नु पनि सम्पूर्ण राष्ट्रवाद होइन। सच्चा र पूर्ण वादले हिमाल, पहाड, तराई, खस आर्य, जनजाति, आदिवासी, मधेसी, दलित, महिला, धनी, गरिब सबैको आत्मसम्मान र प्रतिष्ठाको कदर गर्छ।