शिक्षा

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

बैतडी, १० असार । बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो ।

कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिएका छन् । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मङ्गलबार छलफल गरिएको छ ।

लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए । उनले भने, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको छ ।”

स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताए ।

छलफलमा सहभागी प्रधानाध्यापकहरुले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औँल्याएका थिए ।