समाचार

प्रतिनिधिसभाबाट नागरिक लगानी कोष विधेयक पारित

९ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डां. युवराज खतिवडाले प्रस्तुत गरेका उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. खतिवडाले शुरुमा राष्ट्रसेवक कर्मचारीको बचतलाई प्रोत्साहित गर्न र अवकासपछिको आर्थिक जीवनलाई सहज तुल्याउन कोषको व्यवस्था गरिएको बताए । उनले कोषको दायरालाई क्रमशः बढाउँदै लैजानुपर्ने अवस्था रहेको तथा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषसँग नबाझिनेगरी विधेयक संशोधन गरिएको जानकारी दिए ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद दिब्यमणिराज भण्डारी, प्रदीप गिरी, प्रेम सुवाललगायतले सरकार र नागरिकले विश्वास गरेर जम्मा हुने कोषको रकमलाई शिक्षा, स्वास्थ्य, जलविद्युत् र कृषिलाई प्राथमिकता दिएर उपयोग गर्नुपर्ने बताए । नागरिकको सरोकार र सम्मानको अवसरलाई ध्यान दिएर कोषको रकम सदुपयोग गरिनुपर्नेमा पनि उनीहरुले जोड दिए ।

भन्सार विधेयक पेश

प्रतिनिधिसभाको आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले सो विधेयक पेश गरेको हो । त्यसअघि सांसद प्रेम सुवालले राखेका विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री डा खतिवडाले अन्तरराष्ट्रियस्तरको भन्सार प्रणाली विकास गर्न विधेयक प्रस्तुत गरिएको बताए । उनले नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले अन्तरराष्ट्रिय व्यापारको सिद्धान्त र कार्यविधि अनुरुप नेपालको भन्सारलाई अध्यावधिक गर्नुपर्ने तथा भन्सार छुटजस्ता विषयलाई विधेयकले सम्बोद्धन गरेको उल्लेख गरे ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको पाँच विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देशको जानकारी गराएका थियो । ती विधेयकमा ‘विनियोजन विधेयक, २०७७’, ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ रहेका छन् ।

त्यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को वैठक यही असार १७ गते अपरान्ह १ बजे बस्नेछ ।